Share on facebook
Facebook
Share on twitter
Twitter
Share on print
Print

कथा : दाग

कथा

मन भारी,तन भारी भई गह्रुङ्गाे शरीर बोकेर बिहान घाम ताप्ने गरी कुर्सीमा बसेर टोलाइरहेकी थिएँ । छोरो भीम पनि ठूलो भैसकेको थियो ।आफैँ नास्ता खाई टिफिन डब्बामा खाजा राखी विद्यालय गइसक्यो । पाँच बजे फर्किन्छ त्यति बेला केही खानेकुरा दिनु पर्ला ।आफूलाई भने केही खाने पनि मन छैन न कही जाने नै । राति अबेरसम्म सामाजिक सञ्जालमा झुम्मिएर बसेँ,  हेर्दै जाँदा पुरानो यादले सतायो । मुहार पुस्तिकामा साथी बनाउन अनुरोध गरिएको थियो । जससँग जीवनको लम्बाचौडा हिसाब थियो । आधुनिक विज्ञानको प्रयोग गरी नाता प्रमाणित गरे मेरो भनिएको छोरा नै उसकै हुन्थ्यो पनि । सामाजिक मार्यदामा एकातिर आबद्ध छु भने प्रमाणले पुष्टि गर्न सक्नेको कुनै खोजविन नै छैन ।

समयले के के गराउँदो रहेछ ।भगवान् मानेका पतिप्रति पनि घात गर्नुपर्ने समय आयो । कुनै बेला यस्तो अप्रिय निर्णय पनि गर्नु पर्दो रहेछ । भतभती पिरोलिरहन्छ त्यो घटनाले । त्यसपछि भोग्नु परेका अनगिन्ती अप्ठ्यारा छिचोल्दा छिचोल्दै जीवनको आधा शताब्दी बितिसकेको छ । रहरलाग्दो समय तनावतनावमा ब्यतित भयो । कति सुन्दर सपना थिए जीवनमा, आकाशमा उड्ने सपना हावादारी रहेछन् । जे भोग्नु पर्ने गर्नु पर्ने जमिनमा रहेछ ।

मेरो धरातल मेरो प्रतिकूल पनि त थिएन । केही नियति र गराइले यो अवस्थामा पुर्‍याएको छ । भित्तामा राखेको फोटोमा कसरी हो दाग लागेको रहेछ । फोटो नियाली हेरेँ, एउटा दार्शनिक मान्यता छ चित्रमा दाग लागे पनि चरित्रमा दाग नलागोस् । चित्रको दाग सफा गर्न सकिन्छ तर चरित्रको दाग सफा नै हुँदैन । गहिरिएर नियाल्यो भने मेरो चित्र चरित्र केही सफा छैन दागैदाग छ । सायद दावाग्नीले दाग बत्ती दिएर जलाए पछि मात्र ती दाग मेटिनेछन्।

मसँग रहेका असंख्य कमजोरीहरु निरन्तर निरन्तर मसँगै हिँड्छन्, घरी जिस्क्याउँछन्,घरी गिज्याउँछन् । लुकाउन खोज्दा रातको जून तथा दिनको घामले छर्लङ्ग पारिरहेको हुन्छ । जतिसुकै लुकाउन खोजे पनि पछाडितिर कुरा काट्नेका लागि प्रशस्त मसला बनेको हुन्छ । कमजोरीले हरेक उन्नतिलाई पछार्छ । जीवनमा लगाम लगाउँछ। हुन त कमजोरी मान्छेबाटै हुन्छ ,गल्ती नै नगर्ने त भगवान् हो भन्छन् । गल्ती भई सच्याउने मानिस हो रे,गल्ती गरी अटेर गर्ने हैवान हो भन्छन् । मेरो हैवानीले सधैँ ग्लानि मात्र पैदा गर्‍यो । सच्याउने समय,अवसर नै मिलेन । कमजोरी सच्याउँदा माफ माग्नु पर्छ । माफ माग्दै गर्दा शिर निहुरिन्छ । शिर निहुरिँदा आत्मबल,आत्मसम्मान घट्छ । शत्रुले पनि कमजोरीमा टेकी प्रहार गर्छ । सबल पक्षको कसैले वास्ता नै गर्दैन,कमजोरी पहिल्याउँछन् ।

कैलासकुमार पाण्डेय

कमजोरीमै टेक्छन् र खेल्छन् त्यसैमा । कमजोरीको फाइदा उठाउँछ्न् ,धमिलो पानीमा माछा मार्न उद्दत हुन्छन् । मान्यता छ साख सृजना गर्न जति मिहिनेत गर्नुपर्छ । साख बचाउन दोब्बर मिहिनेत आवश्यक पर्छ । सानो कमजोरीले साख समाप्त हुन्छ । अर्काको कमजोरी त सजिलै पहिल्याइन्छ,देखाउन सकिन्छ शरीरमा जुम्रा हिँडेको । मेरा कमजोरी सधैँ मसँगै छन् । हुन त सच्चिने मौका दिन्छन् । मैले त्यो सच्चिने मौका नै पाएन । सामाजिक परिस्थिति बिग्रेमा तीलको पहाड बनाउँछन् । सच्याउन नसके समाप्त पनि पार्छन् ।

सबैसँग केही न केही कमजोरी रहन्छन् नै मानवीय कमजोरीहरु । सफलताको कथामा कमजोरी कहाँ लुक्ने रैछन् । सफल मान्छे सधैँ सफल रहिरहन्छ,अरुको सफलताप्रति डाह,ईर्ष्या होइन कि तर अहं प्रश्न भने हो । असफलतासँग कमजोरीले बढी काम गर्छ ।

कमजोरीले कहिले नछाड्ने भयो । कमजोरी अभिशाप पनि होइन वरदान पनि होइन,जन्मसिद्ध पनि होइन, न कुनै रित परम्परा नै हो,कमजोरी न कुनै इतिहास छ न कहीँ दन्त्यकथामा उल्लेख पनि । मेरो व्यवहार ,मैले गर्ने कार्यले मेरा सबल दुर्बल पक्षको निर्धारण गर्छ । स्वभाविक हो सबैसित कुनै न कुनै किसिमका कमजोरी रहन्छन् । त्यस्तै मेरा कमजोरी निरन्तर निरन्तर मसँगै छन्,घरी जिस्क्याउँछन् , गिज्याउँछन् ।

मेरो उमेर अठार कटेको थियो । त्यतिबेलाको एसएलसि पास भएकै समय बिहाको कुरा चल्यो । कुरा मात्र होइन, सामाजिक परम्पराअनुसार हामी प्रणय सुत्रमा बाँधियौँ । संयोग बन्धनमा बाँधिएर कुनै परिवार कि बुहारी भएर अर्को घरमा पुगेँ । मेरो थर फेरियो,वतन फेरियो ,परिवेश फेरियो,म स्वयंमा फेरिएर केटीबाट आइमाईमा रुपान्तरित भएँ । घर परिवारको अपेक्षा बुहारीका रुपमा पुगे । समय अनुकूल थियो । एस .एल. सि. गरेकाले शिक्षक हुन सहज सरल थियो ।

परिवारको सामाजिक लगावले गाउँको विद्यालयमा शिक्षक भई कार्य गर्न लागेँ । सामाजिक भूमिका ,परिवारको सदस्यसँगै म कसैकी पत्नी थिए । मेरो छुट्टै परिचय नै हुँदैन । यो समाजले मलाई मेरो पति धनबहादुरकी धर्मपत्नी, अर्धाङ्गिनी, जीवनसाथी भन्छ । तर म कसैकी पत्नी मात्र होइन, कसैकी आमा पनि हुन पर्ने मैले बस्ने समाजले चाहना राख्छ । आमा हुनु पर्ने तर म आमा हुन सकिनँ । दोषको भारी बोकी दिन काटिरहेँ । ज्योतिषी हेराइयो, धामी देउता सोधियो । देवताको मन्दिरमा ठडद्या बसेँ, लाख बत्ती बालियो कारण खोज्दै जादा आमा बन्न सकिन होइन, कसैले मलाई आमा बनाउन सकेन ।

हो, मलाई आमा बनाउन मेरो पति सक्षम छैन । मानव जाति प्रकृतिको सिर्जना हो । जसरी मलाई प्रकृतिले आमाबाट जन्मायो त्यसै गरी आमा बन्न पाउनु मेरो पनि प्राकृतिक अधिकार हो । मेरो यो प्राकृतिक अधिकार प्राप्तिका लागि मलाई पुरुषको साथ चाहिन्छ तर मेरो पतिले मलाई त्यो साथ दिन सकेन । साथ दिन नचाहेर होइन, साथ दिने क्षमता नभएर हाेइन । सुमधुर सम्बन्ध थियो। हरेक गतिविधिमा निकै सानिध्यता थियो। तर त्यही कुराले तनाव बढायो । उसलाई डाक्टरले तिमीबाट सन्तान हुँदैन भनिसकेका छन् ।

सन्तान जन्माउने मामिलामा दुर्बल भएको पुष्टि गरिसके पछि इच्छा,चाहना फेरिए। जसरी पनि भन्ने मेरो मान्यता रह्यो । मेरो मान्यतामा उसलाई सहमत गराउने प्रयास गरेँ।

सेवाकालीन तालिमका लागि तालिम केन्द्रमा आवासीय रुपमा अढाई महिना बस्नु पर्ने मौका मिल्यो । तालिमको शिलशिलामा लालबहादुरसँग चिनजान भयो । बोलचाल, हिमचिम बढ्न लाग्यो । तालिम केन्द्र बाहिर जाने मैले नै प्रस्ताव गरेँ । खाजा खाने बहानामा यताउति जान लाग्यौँ । उन्मुक्त भावना पोख्न लाग्यौँ । जिस्किने,हासो ठट्टा सामान्य जस्तै थिए । जिस्किँदै गर्दा बिदाको दिन समय मिलायौँ । तालिम केन्द्र बाहिर बस्ने प्रस्ताव गरे स्वीकृत भयो । मैले पूर्ण रूपमा आत्मसमर्पण गरेँ । मेरो समर्पणमा उसले सके जति खेल्यो । म त्यहीँ चाहन्थेँ । प्यास मेट्ँने मात्र इच्छा होइन ।

इच्छा त बाँझो खेतमा सिँचाइसँगै उन्नत बीउ छर्ने पनि हो । त्यो दिनका क्रियाकलाप कुनै नौला थिएनन् । जे थिए मैले वर्षौ चलाएका अभ्यास थिए । पच्चीस वर्षदेखि गर्दै क्रियाको नयाँ श्रृङ्खला थियो । यो घटनाको परिणाम जे पनि हुन सक्थ्यो । पच्चीस वर्षदेखि अपनाइएको शैली फेरिन सक्थ्यो,मेरो पहिचानमा रहेको परिवार नरहन सक्थ्यो । आउने ठूलो जोखिम उठाएर गरेको थिएँ कठोर निर्णय।

मेरो कठोर निर्णयले जीवनमा आमूल परिवर्तन ल्यायो । मानसिक र भौतिक रूपमा प्रभाव सुरु भयो । तालिम केन्द्रको बसाइँ सकेर घर फर्किएँ । ढिलो चाँडो जोखिमको सामना गर्नु पर्ने नै थियो । बिस्तारै विषय प्रवेश गर्ने योजना बनाएँ । घरका धेरैमा खुसी छायो । जसरी पनि भन्रे विवाद भएकै थियो र मेरो पति परमेश्वरको मौनता सुरु भयो।

अर्कै अर्थ लाउन खोज लाग्छ पनि शब्द अनेकार्थी हुन्छन् नै तर विषय प्रसङ्गले अर्को अर्थ नलागेमा मौनता भन्नाले मौनता सम्झनु पर्छ । भनिन्छ पनि मौनं स्वीकृति: लक्षणम्

मेरो बुझाइ पनि त्यही रह्यो । तर परिस्थिति दैनिक फेरिएर आउन थाल्यो । राती अबेर घर आउने ,आउँदा पनि रन्थनिएर टेक्नु पर्ने अवस्था आयो । मैले प्रतिक्रिया दिए परिणाम झनै गम्भीर बन्न जाने अवस्था थियो । परिस्थितिवश सबै घटना सहनु पर्ने थियो । मेरो सामाजिक अवस्थाले मैले गरेको कार्यको जानकारी पाएँ त्यसमा टेकेर डङ्का पिटाउँथ्यो । समय बित्दै गयो । कसैले मानुन् नमानुन्,कसैले स्वीकार गरोस् वा तिरस्कार गरोस् समय बलवान छ । आफ्नो गतिमा दौडिरहेको छ ।

धनबहादुरको छोरो जन्म्यो गाउँभरि चर्चा भयो । छोरो जन्मेको कुराले निकै ठूलो चर्चा पायो । बिहा धेरै लामो समयपछि भएकोमा हो वा अरु कुनै प्रसङ्गले चर्चाको आकाशै छोयो । उसको फेरिएको बानीले पनि यसमा मसला थप्यो । निकै धूमधामसँग न्वारन गरियो । भीम नाउँ राखियो । हाम्रो परिचय फेरियो । भीमकी आमा भन्ने नयाँ नाता कायम भयो । यो खुसीमा तुषारापात भयो । धेरै दिन खुसीमा रहेन ।

उनको अत्यधिक रक्सी सेवनले मृगौला काम गर्न छोडिसकेको रहेछ । मेरो छोराको हेरचाह, विद्यालय जानु पर्ने, घरधन्दा,तथा तनावले नै होला भन्ने कारणले पनि हेरविचार गर्न सकिएन । मेरो जीवनमा वज्रपात भयो । एक आपसमा केही विमति भए पनि कहिले झगडा भएको थिएन । मैले जस्तोसुकै गल्ती गरे पनि मौनताले टारेको थियो । भगवान् जस्तो पतिलाई धोका दिएँ । मसँग क्षमा माग्ने कुनै शब्द नै छैन । क्षमाका लागि योग्य पनि छैन । मेरो सिन्दुर पुछियो,सौभाग्य लुटियो,परिचय फेरियो।एकल महिला , विधवाको श्रेणीमा राखिए।जीवनमा खुसी कम दु:ख बढी झेल्नु रहेछ।जीवन सरल बाटो रहेनछ ।कैयौँ उकाली ओराली छिचोल्नु पर्ने रहेछ। एउटा गन्तव्यमा केही समयसँगै रहे पनि त्यो सहज र सरल रहेन।

महाभारतका कथा प्रसङ्गले पश्चाताप र तनाव कम गर्न सहायता पुर्‍याउँछ।

कृष्णदैपायन व्यास पनि पराशर ऋषि र योजनगन्धाका अवैध सन्तान नै हुन् । अप्सराको श्राप मोचन तथा मत्स्य गन्धाको गन्ध दूर गर्ने प्रयोजनसँग जोडदा व्यास जन्म कथा पठनीय प्रसङ्गमा नै आउँछ । गंगालाई श्राप परेको थियो पृथ्वीमा सन्तान जन्माउनु पर्ने । गंगा राजा शान्तनुकी पत्नी भएर अष्टवसुलाई सन्तानका रुपमा जन्म दिइन् र श्रापबाट मुक्त भइन् । गंगालाई मात्र थिएन अष्टवसुलाई पनि ऋषिको श्राप थियो पुत्र रुपमा जन्मेर श्राप मोचित भएका थिए ।

तमाम स्वर्गका परीहरु श्रापबाट मुक्त हुन पृथ्वी तलमा सन्तान पैदा गरी श्राप मोचन भएको प्रसङ्ग पुराणमा वर्णन पाइन्छ । जसले नारीहरुलाई यदि कुनै श्राप नै छ भने पनि सन्तान पैदा गरेर श्रापबाट मुक्त भएको भन्दा फरक पर्दैन । हामी महाभारत ,पुराण, वेदलाई सनातन मान्यताका आदर्श मान्दछौँ। पुरुष संसर्गलाई देव मिलनको संज्ञा दिएको पाइन्छ ।

कुमारी हुँदा नै कुन्तीले आमा बन्नु पर्ने अवस्था आयो । कुन्ती आफूसँग सूर्यकाे संसर्ग भएको र कर्ण जन्मको लामो कथा छ । राजा पाण्डुको बाध्यताले पाण्डुको अनुमतिमा धर्मराजबाट युधिष्टिर, वायुबाट भीमसेन, इन्द्रबाट अर्जुन र माद्रीसँग अश्वनीकुमारको सम्पर्कबाट नकुल र सहदेव जन्मेकोबाट पनि पर पुरुषसँगको सम्बन्धले वैध स्वरुप पाएको रहेछ । विचित्रवीर्यको देहावसान पछि कुरु वंश समाप्त हुने अवस्था देखेर माता सत्यवतीले अफ्ना बिवाहा पूर्वका पुत्र ब्यासलाई बोलाई धृतराष्ट, पाण्डु र विदुरको जन्म कथालाई आदर्श नै मानिन्छ ।

मैले चालेको कदम शास्त्रीय मान्यता अनुरुप पनि पाप होइन । कुन्तीले सधैँ आफ्ना पुत्रप्रति गर्व गरेकी थिइन् । काम व्यवहार जे भए पनि पञ्च कन्याको श्रेणीमा अभिलेखित छन् । अहिल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी पूजनीय तथा वन्दनीय नै छन् । व्यासजीलाई भगवानकै स्वरुप मानिन्छ।

चित्त बुझाउने मेलो मात्र भएको छ । साहित्यका विभिन्न विधा पुस्तक सहयोगी भएका छन् । त्यसैमा आधुनिक सहयोगी सामाजिक सन्जाल पनि भएका छन् । त्यही सञ्जालको फेसबुकको एउटा फ्रेन्ड रिक्वेष्टले झस्कायो । पुरानो खाटो कोट्यायो । नमेटिने दाग देखाउन खोज्यो।

लेखक परिचय

अन्य कथाहरु

कथा : अ’मुखरित’ प्रेम
चेतना-e1652350456750-273x300
कथा : राइट अफ वे
BK
कथा : गजबको भाग्य
243390005_373617071175915_465863971246921397_n
कथा : बुवा, मृत्यु र सन्त्रास
AP-31222-Bivek-Bibek-Bhandari-1
सुनको पिँजडा
SHRIJANA

कैलासकुमार पाण्डेय का अन्य सृजनाहरु :

अन्य सृजनाहरू भेटिएन