लेख

नाटकमा मेराे पहिलाे प्रयास हो मुर्दाघर

लामाे समय आफ्नै जीवनले मलाई अल्झाइरह्याे । अझ भनूँ म कहाँ अल्झिएँ आफैँलाई थाहा भएन । अचेल खै किन हाे खुल्ला आकाशमा उँड्न मन लाग्छ । कहिलेकाहीँ निस्फिक्री बतासिन मन लाग्छ अक्षरहरू सँगसँगै । सायद अक्षरहरूसितको प्रेममा नपरेकी भए मेराे अस्तित्व उहिल्यै समाप्त भैसकेको हुन पनि सक्थ्याे । मलाई म बनाउन सदैव जन्मिरहेका अक्षरहरू फेरि एकपल्ट समस्त पाठकहरूलाई समर्पण गरेकी छु । नाटकमा मेराे पहिलाे प्रयास हो मुर्दाघर । यसलाई अब हजुरहरूकाे पाेल्टामा हलिदिएँ, बाँकी हजुरहरूकै हातमा छ ।
छन्द कविताको बाटोमा यात्रा गरिरहेकी मलाई नाट्य प्रशिक्षण कार्यशालामार्फत् थोरै प्रकाश दिएर बाटो देखाइदिने नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र प्रशिक्षक नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका प्राज्ञ पुरू लम्साललाई झलझली सम्झिरहेकी छु । त्यतिखेर “तपाईँले सक्नुहुन्छ, लेख्नुस् । ” भनेर नहौस्याइदिएको भए ममा नाटक लेख्ने हुटहुटी नै नपलाउन पनि सक्थ्यो । लेखनको सिलसिलामा होस् या पुस्तकको आवरण तथा लेआउट तयार गर्ने कुरामा होस्, पुस्तकलाई अहिलेको आकृतिसम्म ल्याइपुर्याउन पुरू लम्सालकाे भरपूर साथ, सहयोग र सल्लाह पाएकी छु । एउटा अग्रजले अनुजलाई गरेकाे याे सहयाेग र स्नेहका लागि उहाँलाई कुन शब्दले धन्यवाद दिऊँ थाहा छैन । हतार हतारमा भएपनि किताब छापिदिएर गुन लगाउने प्रिन्टोहब ट्रेड लिङ्क प्रा. लि. लाई पनि धेरै धेरै धन्यवाद । मेरो लेखनमा मेरो परिवारको साथ छ र त म छु आजसम्म…. मेरो परिवारका सबैजनालाई विशेष धन्यवाद ।
आफ्नो वार्षिकोत्सवको अवसर पारेर सुन्दर नगरी पोखरामा मेरो नाट्यकृति विमोचनका साथै एकल कविता वाचनको कार्यक्रम तय गरी साहित्यिक हिसाबले पोखरासित जोडिने सेतुको काम गर्ने नारी प्रतिभा वाङ्‌मय प्रतिष्ठान परिवार प्रति सदा ऋणी छु । नारी प्रतिभा वाङ्‌मय प्रतिष्ठाननलाई हृदयत: आभार व्यक्त गर्दै वार्षिकोत्सवको अवसरमा संस्थाको उत्तरोत्तर प्रगतिको कामनाका साथै हार्दिक बधाई ज्ञापन गर्दछु । मेरो नाट्यकृति ‘मुर्दाघर’ लाई अक्षरश: केलाएर अत्यन्त सुन्दर ढङ्गले समीक्षा गर्नुहुने समीक्षक आदरणीय गुरु प्रा. डा. रामचन्द्र पोखरेलप्रति आभारी छु । पोखराको माटोमा टेकेदेखि पोखरा नछोड्दासम्म मिठो आतिथ्यका साथमा मलाई हरसमय साथ दिएर पोखराका विभिन्न ठाउँसित साक्षात्कार गराउने प्रिय मित्र छन्दिका त्रिपाठी, आदरणीय गुरु माधव वियोगी र उहाँका सम्पूर्ण परिवारका साथै आदरणीय दाजु शिव त्रिपाठीप्रति नतमस्तक छु । कार्यक्रममा उपस्थित भएर मलाई हौसला थपिदिनुहुने सम्पूर्णमा हार्दिक आभार । उपस्थित हुन नसके पनि प्रत्यक्ष या परोक्ष रूपमा मप्रति भरपूर माया र सद्भाव दर्शाउउनुहुने सबैप्रति कृतज्ञ छु ।
पोखराको मायाले नि:शब्द बनाएको छ । आँखा पीडामा मात्र होइन खुशीमा पनि टिलपिलाउने गर्छन्, अहिले मेरा आँखा हर्षले टिलपिलाएका छन् । चुपचाप अनुभूति सँगाल्नुको मज्जा पनि बेग्लै हुँदोरहेछ । हजुरहरूको प्रेमलाई छातीभरि सजाएर फर्किँदैछु । अक्षरहरूबाट बनेको सम्बन्ध युगौँयुग जीवित रहिरहोस् । कार्यक्रमको दौरान र पोखरा बसाइका क्रममा मबाट भएका समस्त कमी कमजोरीलाई क्षमा गरिदिनुहुनेछ भन्ने अपेक्षा छ । यति धेरै प्रेम र सद्भावका लागि हार्दिक धन्यवाद पोखरा !

अन्य लेखहरु

No data was found

सृजना अर्याल का अन्य सृजनाहरु :

SHRIJANA
आमा