कृति समिक्षा

कवि शालिग्राम अर्याल लिखित पुरानो पोको कविता सङ्ग्रह वि.सं. २०८१ सालमा धादिङको माटोले जन्माएको एउटा ऐतिहासिक दस्तावेज हो । यस संङ्ग्रहमा लामा छोटा ८० वटा शीर्षकका कविताहरूले आफ्नो अस्तित्व दर्शाउन पाएका छन् । यस सङ्ग्रहमा वि.सं. २०३६ सालको मङ्सिर महिनादेखि सुरु भएको उनको लेखनी वि.सं. २०७५ सालसम्म फैलिएको छ । झण्डै चारदशकको परिश्रमबाट साकार रूपमा नयाँ जन्म पाएको यस सङ्ग्रहभित्रका कविताले मानवीय मस्तिष्कको उहापोहलाई स्फुट रूपमा अभिव्यक्त गरेको पाइन्छ । विभिन्न शास्त्रीय र लोक छन्दमा रचना गरिएका यस सङ्ग्रहका कविताले समसामयिक नेपाली समाजको प्रतिबिम्ब उतार्ने जमर्को गरेको छ ।
यस सङ्ग्रहमा सङ्कलित पहिलो कविता के छैन नेपालमा शीर्षकमा रहेको छ । यसमा नेपालको सांस्कृतिक परम्परा, त्यसभित्र देखिएका विकृत थितिबिति र राज्यका तत्कालीन शासकहरूका भ्रष्ट चरित्र समेतलाई चोटिलो प्रहार गरिएको छ । अन्य शीर्षकका अनेकौं कवितामा नारी, पुरुष, युवावर्ग, देश र समाजको चिन्तन गरिएको पाइन्छ । यस सङ्ग्रहका कवितामा मूलतः नारी जातिको वेदना र उनीहरूप्रतिको सहानुभूति, सामन्ती शोषणको चपेटामा परेका निमुखा गाउँलेको उद्धारका निम्ति युवावर्गलाई आह्वान, आफन्तको आकस्मिक आगमनबाट उत्पन्न हर्षोल्लास, पञ्चायतकालीन राज्यआतङ्क र धरपकड, कविका निजी, परिवारक र सामाजिक जीवनको ऐतिहारिक लोखोट, डाँडा पाखाको चट्टान फोरेर भोलिको कृषिभूमि निर्माणमा सहयोगको अपील गरेर व्वस्थालाई प्रहार, पञ्चायती शासनको अन्त्यका निम्ति जनमोर्चाको निर्माण र सङ्द्धर्ष आदिजस्ता विषयले यस सङ्ग्रहा कविता पेचिला बनेका छन् । वीर भूमि नेपालका सपुहरूले एकतन्त्री निरङ्कुश तानशाही राणाशासक त ढाले भने पञ्चायती तानशाहीलाई पनि ढाल्नै पर्छ भन्ने आशय यस सङ्ग्रहका कवितामा प्रकट भएको छ ।

जनआन्दोलन २०४६ को दौरनमा नेपाली शिक्षक र कर्मचारीहरूले झेल्नु परेको जेलनेल, गालीबेजती, चोटपटक सहेर पनि व्यवस्थालाई पल्टाउन डटेको विषय, असल काम गर्दा पनि आलोचित भइने सामाजिक प्रवृत्ति, आध्यात्मिक चिन्तन, समाजवाद निर्माणको आह्वान, राजतन्त्रको अत्यपछि बनेका सर्कारहरू पनि पुरानै लूटतन्त्रमा तल्लिन भएपछिको विरक्ति र आक्रोस, गणतन्त्रको आह्वान र नेताहरूलाई खबर्दारी, धादिङको रमणीय र स्वर्गीय भूमि दार्खाको महिमागान, नारी जातिको पारिवारिक एवं सामाजिक महत्त्व, जनयुद्ध जनताको लागि बन्न सकोस् भन्ने शुभकामा, ऋण दिने साहु हुनुको पीडा र विवेकशील ज्ञानी मान्छे नै असल सामाजिक प्राणी हुनसक्छ भन्ने विचार यस सङ्ग्रहका कवितामा व्यक्त भएको छ । हाम्रो धादिङ कवितामा धादिङको राजनैतिक संरचना, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदा र प्राकृतिक सौन्दर्यको गायन गरिएको छ । संविधान निर्माण गर्न गएकाहरूले संविधान सभा नै खाए पछि सभासद्हरू प्रतिको घृणा र आक्रोस, शासकले युवा वर्गलाई बाटो देखाउन नसकेको अवस्थाप्रतिको दुखेसो, जुनसुकै विषयको ज्ञान दिने महान् गुरुको स्तवन, विश्व नै साझा घर भएकाले सामाजिक विभेद, तेरोमेरो भन्नुको व्यर्थता र शिक्षण पेसा सम्मानित हुँदै गए पनि निवृत्तहरूको ज्ञान, त्याग र लगानको उपयोग गर्न सके राष्ट्र अझै उन्नत हुने थियो भन्ने आशयका भावहरू यस सङ्ग्रहका कवितामा प्रस्फुटित छन् ।

यस सङ्ग्रहका अन्य कवितामा मित्रको मित्रता र इमान, सधैँजसो भइरहने बन्द, हड्ताल र अस्तव्यस्तताप्रतिको असहमति, वन विनास, तस्करी, घूसखोरी, भ्रष्टाचार, बलत्कार र देशको सीमा अतिक्रमण जस्ता विषयमा सरकार खरो उत्रन नसकेको प्रति आक्रोस व्यक्त भएको छ । नयाँ नेपालको परिकल्पना गर्ने नेपालका जिम्मेवार पार्टीहरूलाई जिम्मेवार बनेर संविधान निर्माणमा लाग्न कविता मार्फत सुझाव दिनुका साथै राज्यको ढुकुटी अरू नसिध्यउन खकर्दारी गरिएको छ । यस्तै कवि भानुभक्तको योगदान, अत्मीय मित्रजनको विदाइ, अग्रज गुरुप्रति शब्दश्रद्धा, वैकल्पिक शक्तिको खोजी तथा नेपाली चाडपर्व मनाउने विकृत परम्पराप्रति शालीन व्यङ्ग्य यस सङ्ग्रहका कवितामा अभिव्यक्त भएको पाइन्छ । यस्तै छोरा, छोरी, श्रीमती, बाबु, आमा, साथीभाइ र बन्धुबान्धव माया र मर्म बुझेर सहयोगी होऊन् भन्ने चाहनाका पनि व्यत भएको छ ।
यस सङ्ग्रहका अन्य कवितामा भूकम्पले क्षती पु¥याएको धनजन र घरको अवस्था एवं राहतको दुरुपयोग, विदेश बसाइबाट प्राप्त अनुभव र स्वदेशको ममत्व, निवृत्त शिक्षकहरूसँग भएको बौद्धिकतालाई उपयोग गर्न आग्रह, शान्तिवार्ता मिलाउन नसक्ने नेतृत्वलाई देश निकाला गर्ने अठोट, देशमा भएको नाकाबन्दी र भ्रष्ट प्रवृत्तिको समर्थ नगर्न नेपाली जनतालाई आह्वान गरिनु का साथै अस्थिर राजनीति र आलोपालो सत्ता सञ्चालनले देशलाई निकास नदिने विचार व्यक्त भएको छ । तिहारमा दिदी बहिनीको माइती आगमन र दाजुभाइको चिरायु कामना गर्ने सांस्कृतिक परम्परा, छिमेकीले नाकाबन्दी लगाएर दिएको दुःख र शास्तिको वर्णनका साथै निकै राम्रा आश्वासन र सपना देखाएर गणतन्त्र फाल्न होमीएका मानिसहरूलाई निरास बनाएर संसदमा कुटाकुट गर्नेहरूसँग पार्टीमा लागेर के नै हुने रहेछ र भन्दै पार्टी र नेृतृत्वप्रतिको वितृष्णा व्यक्त भएको छ । यस्तै पूर्वज कविहरूप्रति श्रद्धा र सम्मान, पार्टीभित्र देखिएका फूट प्रवृत्तिको विरोध, परदेशमा हुँदा बन्धुबान्धव र स्वदेशको संझना, देशभित्र मौलाएको भ्रष्ट प्रवृत्ति र विसङ्गतिप्रति व्यङ्ग्यात्मक झटारो, नेपाल र अमेरीकाको वातवरणीय तुलना, देशको स्वर्गीय वातावरणलाई चटक्कै छोडेर बौद्धिक र शारीरिक श्रम विदेश पलायन भएकोमा चिन्ता व्यक्त गर्दै युवा पलायनले देश बन्न नसक्ने विचार यसरी व्यक्त भएको छ–

जो जो शिक्षित भो र बुद्धि–धन भो ! छोड्यो विदेशै गयो ।
जस्को सीप भयो र दक्ष हुन गो त्यो नै विदेशी भयो ।
छाडी बाल र वृद्ध या त महिला ! लाटालुलाको भर ।
कैले बन्दछ देश युवक बिना ? नेपाल हाम्रो घर ।

यो आजको यथार्थ र भोलिको भयावह अवस्थाको चिन्तन पनि हो । यस्तै पत्नीको मातृवत् स्नेह र मातृशक्तिको प्रसंसा, विदेशमा रहँदा छोरीचेलीको संझना, साहित्यम भित्रिएको पश्चिमा विकृति र नेपालको प्राकृतिक वैभव गायन जस्ता विषहरू यस संग्रहका कवितामा व्यक्त भएको छ । समग्रमा भन्नु पर्दा शालिग्राम अर्यालको पुरानो पोकोले नयाँ जन्म लिएर नेपाली काव्यबाटिकामा एक थुँगा फक््रयाउन सफल भएको छ । यस सङ्ग्रहका कवितामा, परिवार, समाज, जिल्ला, देश र विदेश सबै अटाएको छ । नेपाली राजनीति, धर्म, संस्कृति, प्रकृति आदिको सुन्दर संयोजनका रूपमा यसभित्रका कविता पठनीय एवं चिन्तनीय रहेका छन् । छन्द मिलाउने सन्दर्भमा भएका व्याकणिक त्रुटिलाई कविातका भावले छोपेर चन्द्रकलाले चन्द्रमाको दाग छोपेजस्तै छोपिएको छ ।

आदणीण मित्रवर ! अत्यन्तैव्यस्त समयमा विहङ्गम दृष्टिले जे जति दृष्टिगोचर हुन सक्यो त्यति नै लेख्न सकेँ । पुरानो पोको फुकाउने कार्यक्रममा उपस्थित हुन नसके पनि कार्यक्रमको पूर्ण सफताको हार्दिक हार्दिक शुभकामना सहित यहाँको कलम अझै ऊर्जाशील बन्न सकोस् भन्ने शुभच्छा समेत व्यक्त गर्दछु ।

अन्य कृति समिक्षाहरु

No data was found

डा. रामहरि लम्साल का अन्य सृजनाहरु :

ramharilamsal
आफ्नै संस्कार गरिमा ठुलो