खोला, नाला, कुवा, धारा सबै छन् जलका धनी ।
बूढो साउनले गाँज्यो वर्षा रुन्छे झरी बनी ।।१।।
बाटोघाटो कतै बन्द बाढी पैरो गए कतै ।
मान्छेको मनमा त्रास बढेको छ जताततै ।।२।।
आजै श्रावण संक्रान्ति लूतोलाई पखाल्नु छ ।
खटिरा घाउ धोएर पिलो चाहिं निचोर्नु छ ।।३।।
ल्याएँ पानीसरो गुह्येसरो ती जंगली बुटी ।
कुकुर डाइनो ल्याएँ काटेर लहरा थुती ।।४।।
भलायो जंगली केही, अमला, जामुना सबै ।
पुरेनी र गलेनीका लहरा पोथरा अझै ।।५।।
गोलकाँक्री, मकै, अम्बा, नासपाती र मौसम ।
निबुवा, हलुवाबेत, सुन्तला अनि दारिम ।।६।।
भोगटे, कुरिलो, लप्सी, च्युरी, पँदेल, कागती ।
जोडी जे जे फलेका छन् सबै जम्मा गरे पछि ।।७।।
राँको बाली दियालोको अगुल्टो फालियो सबै ।
लूतो जा जा सीमा पारी नआएस् देशमा कवै ।।८।।
कुरिलो पड्कियो राँको झोसी पात डडे पछि ।
लुतो फाल्ने रीति यस्तै गरिन्छ गाउँमा बसी ।।९।।
निको हुन्न लूतो फाली उपचार गरौं कति ?
सीमाना पारीको लूतो जियालु सरुवा अति ।।१०।।
भित्रिएको छ यो पल्लो देश, पारी समुन्द्रको ।
उपचार कहाँ लाग्नु ? छुचुन्द्रे (कोरोना) रोग झैं छ यो ।।११।।
एकतामा जुटी एके चोटि धोइदियौं भने ।
लूतो केही कमी होला संस्कार गरियो भने ।।१२।।
लुतो हो सरुवा रोग सफा बन्दा हराउने ।
जडौरी अरुको भिर्दा फैलिदिन्छ चिलाउने ।।१३।।
एकैचोटि सबै फालौं लुतो देशैभरि छिर्यो ।
नेपाली संस्कृति हाम्रो लुताकै पिरले गिर्यो ।।१४।।
लुतो फाल्ने बुटी धेरै यिनै हुन् औषधि मुलो ।
अब जागा बनौं आफ्नै संस्कार गरिमा ठुलो ।।१५।।