कविता

देवी छन्, अझ कोटि-देव-गण छन्, ॐकार नेपालमा
एकैमा पनि छन् अनेक, दुनियाँ संसार नेपालमा
देवीका पनि नाम शक्ति विविधा आकाशदेवी यहाँ
ब्रह्मा विष्णु र रुद्र शक्तिमय छन् के छैन नेपालमा? १।

पूजा – पाठ – जपादि – पण्डितहरू, मिल्छन् पुजारी गुरु
स्वर्गै लान भट्याउँछन् खुबसितै जोगी-महात्मा, अरू
छन् अठ्ठार पुराण, छन् उपनिषद्, छन् वेद – गीता जहाँ
तीनै लोक सदा बयान गरिने के छैन नेपालमा ? २।

बोक्सी, भूत, मसान, वीर कति हुन् छन् प्रेत तर्साउने
राँकेभूत र डाङ्किनी सब मिली यो देश थर्काउने
मुर्कुट्टा कुलदेव वायु र सती पार्छन् अगत्ति यहाँ
किच्कन्या पनि नाच्दछन् घरघरै के छैन नेपालमा? ३।

पाखानाग, कुनै बसेर जलमा उत्पात गर्छन् कति
उल्का, राहु, शनिश्‍चरै ग्रहहरू लागे हुने दुर्गति
साढेँसात र संकटा सब मिली लागे भने दु:खमा
झाँक्री मुक्ति दिने छँदैछ नजिकै के छैन नेपालमा ?४।

भावी लेख्छ निधारमा जति कुरा – उस्तै हुने जीवन
मर्ने, जन्म लिने र दु:ख सुख या संसारका बन्धन
गर्दा तर्पण, दान, काजकिरिया पुग्छन् सबै स्वर्गमा
ठेक्का लिन्छ पुरेत, मुक्त सब छौँ के छैन नेपालमा।५।

मात्रै मूर्ति कहाँ र जीवित सधैँ छन् देशमा ईश्‍वर
साक्षात् देव बुबा मुमा र सिकियो ‘आचार्य देवो भव:’
कन्या, ज्वाइँ र काग, गौ, कुकुरका पूजा गरिन्छन् जहाँ
ज्यूँदा देवहरू सुपूजित हुने के छैन नेपालमा ? ६।

हस्तीहाड र रक्तचन्दन, बुटी, चौँरी, बिना बेचिने
गैँडा-खाग, चरेस, मूर्ति, पशुका छन् चर्म बिक्री हुने
यार्सागुम्बु र श्‍वेत चन्दन नदी टिम्मा सबै साथमा
सत्ता तस्करको छँदैछ भन लौ के छैन नेपालमा? ७।

(२०३६ सालको जनक्रान्तिमा जनचेतना अभिवृद्धिका लागि यो कविता लेखी सर्वत्र वाचन गरिएको)
रचना: २०३६ मंसिर ८
स्रोत : पुरानो पोको कविता संग्रह – २०८१

अन्य कविताहरु

जाडोमा एक्लै घरमा ।
shaligram aryal
आफ्नै संस्कार गरिमा ठुलो
ramharilamsal
आमा
SHRIJANA
साथी
Untitled design - 1
बुझिदिने परिवार भैदिए
Untitled design - 1

शालिग्राम अर्याल का अन्य सृजनाहरु :

shaligram aryal
जाडोमा एक्लै घरमा ।